ईकोनोमिक खबर, काठमाडौं।
२०६२, ०६३ जनआन्दोलनको सफलता पश्चात २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष वैशाख ११ गतेलाई लोकतन्त्र दिवसको रुपमा मनाउने गरिएको छ । दिवसको अवसरमा आज विभिन्न कार्यक्रम समेत आयोजना गरिँदैछ । नेपाली जनताको ठूलो त्याग तथा बलिदानबाट नेपालमा लोकतन्त्र बहाल भएको थियो । संसदवादी दलहरुले अगाडि बढाएको आन्दोलन र सशस्त्र संघर्षमा रहेको तत्कालीन नेकपा माओवादीबीच सम्पन्न १२ बुँदे सहमतिपछि १९ दिने ऐतिहासिक जनआन्दोलन सफल भएको दिन अर्थात प्रत्यक्ष शासन संचालन गर्दै आएको निरंकुश ज्ञानेन्द्रशासनले घुँडा टेकेको दिन हा,े लोकतन्त्र दिवस ।
२०६३ साल वैशाख ११ गते राती तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए । पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो । जनआन्दोलनमा कमाण्डरसमेत रहेका नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सर्वदलीय सरकारले २०६४ चैत २८ गते पहिलो संविधानसभाको चुनाव गराएको थियो ।
संविधानसभाको २०६५ साल जेठ १५ गतेको बैठकले नेपालमा राजतन्त्र अन्त्य भएको घोषणा गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देश बनाएको थियो । त्यसयता देशमा धेरै परिवर्तनहरु भएका छन । संविधानसभाबाट बनेको संविधानले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई संस्थागत गरेको छ । संघीय शासन प्रणालीको अभ्यास शुरु भयो । स्थानीय, प्रदेश र संघीय सरकार गरी तीनै तह अहिले देशलाई सम्वृद्धिको बाटोमा हिँडाउन लागि परेका छन ।
देशमा शान्ति र स्थायित्वको शुरुवात भएको छ । तर लोकतन्त्र स्थापनाका क्रममा जुन सपना जनतालाई देखाईएको थियो त्यो सपना भने पुरा भएको देख्न पाइएको छैन । व्यवस्था परिवर्तन भयो, सरकारहरु परिवर्तन भए, नाराहरु परिवर्तन भए परिवर्तन भएन त केवल नेतृत्वमा पुगेका नेताहरुको व्यवहार र जनताको जीवनस्तर । परिवर्तनलाई संस्थागत गर्ने र व्यवहारमा लोकतान्त्रिक चरित्र देखाउने काममा सरकार र राजनीतिक दल चुक्दा नागरिकका सपना अझै पूरा हुन सकेका छैनन ।
जसरी लोकतन्त्र स्थापनाका लागि आन्दोलन गर्ने क्रममा तत्कालिन राजनीतिक दलहरु एकिकृत भएका थिए लोकतन्त्र स्थापनापछि भने त्यस्तो एकता नेताहरुले देखाउन नसक्दा नागरिक भने निराश छन । बेरोजगारी, मुल्यबृद्धि, कृषि बस्तुको आयात तिब्र, शिक्षा स्वास्थको पँहचमा बन्चित लगायत जनताका आँकाक्षा पुरागर्न दुईतिहाई सरकारले पनि गर्ने छाँटकाट देखिदैन ।