काठमाडौं। यही १७ गतेसम्म पनि भुक्तानी नपाए देशभरका दुग्ध किसानलाई काठमाडौं उतारेर आन्दोलन गर्ने किसानसँग आबद्ध संघ, सँस्थाहरुको चेतावनी छ।
करिब ७ अर्ब रुपैयाँ भुक्तानी नपाएपछि किसान आन्दोलित भएका छन्। ३, ४ महिना बितिसक्दा पनि दुधको रकम नपाएपछि गाईभैंसीलाई दाना खुवाउन, बैंकको ब्याज–किस्ता तिर्न, घरखर्च चलाउन कठिन भएको भन्दै किसान आन्दोलित भएका हुन्।
प्रत्येक जिल्लामा ज्ञापनपत्र बुझाइरहेका किसानले भुक्तानीका लागि सहजीकरण गर्न सरकारसँग आग्रह गरेका छन्। प्रशासन कार्यालयमार्फत् ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै उनीहरूले फागुन १७ गते चक्का जाम र २१ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए।
‘आफूले बेचेको दुधको रकम पाउन पनि आन्दोलन गर्नुपर्ने अवस्था आउनु लज्जाको विषय हो,’ कुँवरले भने, ‘सरकारले भुक्तानीका लागि तत्काल सहजीकरण गरिदिनुपर्छ।’
बक्यौता नपाए उनीहरूले फागुन १७ गतेदेखि चरणबद्ध आन्दोलन गर्ने घोषणा नै गरेका छन्। निजी क्षेत्रका डेरीले करिब ६ अर्ब रुपैयाँ र सरकारी स्वामित्वको दुग्ध विकास संस्था (डिडिसी) ले करिब ९० करोड रकम भुक्तानी नदिएको किसानको गुनासो छ।
बजारमा दुधको उपभोग घटेर किसानसँग किनेको दुधबाट निर्माण गरिएको बटर र पाउडर दुध स्टक हुँदा पुँजी ‘होल्ड’ भएकाले किसानलाई भुक्तानी गर्न नसकेको उद्योगीको दाबी छ।
दुग्ध विकास संस्थानले दुध खरिद गरेबापतको रकम दिने व्यवस्था मिलाउन पनि उनले निर्देशन दिए। निजी क्षेत्रबाट पनि किसानहरूले भुक्तानी पाउन बाँकी रहेकाले सहजीकरण गर्न उनले आग्रह गरे।
किसानसँग किनेको दुध बिक्री नहुँदा समस्या आएको दुग्ध विकास संस्थान (डिडिसी)ले जनाएको छ। दैनिक डेढ लाख लिटर दुध किसानसँग संकलन गरे पनि १ लाख लिटर मात्र बिक्री भएको डिडिसीका महाप्रबन्धक सञ्जीव झाले बताए।
झाका अनुसार दैनिक करिब ५० हजार लिटर दुधको बटर र पाउडर दुध बनाएर राखिएको छ। किसानको करिब ९५ करोड रूपैयाँ भुक्तानी बाँकी रहेको उनले बताए। दुग्धजन्य वस्तुलाई विदेश निर्यात गर्न पहल गर्नुपर्ने उद्योगीको माग छ।
विदेशबाट दुग्धजन्य वस्तु आयात भएका कारण पनि स्वदेशी उत्पादनले बजार नपाएको किसान तथा उद्योगी बताउँछन्। खुला सिमानाबाट अवैध रूपमा तस्करी भएर पनि दुध आएको उनीहरूको जिकिर छ। स्वदेशमा पर्याप्त उत्पादन भएकाले सरकारले अनुदान दिएर भए पनि निर्यातको वातावरण बनाउनुपर्ने किसानको माग छ।
दुध र दुग्धजन्य बटरलगायत वस्तु विदेशबाट आयात भएकाले स्वदेशी उत्पादनले बजार नपाएको उद्योगीको दाबी छ। धुलो दुध र बटर बिक्री नभएपछि उद्योगका गोदाम भरिएको उनीहरू बताउँछन्।
उपभोक्ताको क्रयशक्तिमा ह्रास आउँदा पनि दुध खपत घटेको हो। विगतमा विदेशबाट दुध आयात हुने गरेकोमा अहिले मुलुक दुधमा आत्मनिर्भर त बनेको छ तर किसानले उत्पादन गरेको दुध बिक्री नहुँदा समस्या भएको छ।
१५–१५ दिनमा किसानलाई दुधको रकम भुक्तानी गर्दै आएका उद्योगहरूले दुई–तीन महिना बितिसक्दा पनि भुक्तानी गर्न सकेका छैनन्। दुध बिक्री नभएपछि निजी डेरीले कम दुध संकलन गरेका छन्। खपत कम हुँदा निजी डेरीले दुध संकलन घटाएपछि किसानले दुग्ध विकास संस्थानले खरिद गर्दै आएको छ।